गृहमन्त्रीले समितिको अपमान गरेः प्रभाकर राहत वितरणमा भएका प्रगति र अनियमितताका बारेमा छलफल गर्न व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले आइतबार सिंहदरवारमा बोलाएको बैठकमा गृहमन्त्री बामदेव गौतम अनुपस्थित बनेका छन् । लेखाले बोलाएको बैठकमा गृहमन्त्री गौतम नआएको यो दोस्रो अवसर हो ।
यसअघि पनि गौतम भिसा प्रोसेसिङबारे छलफल गर्न बोलाइएको बैठकमा अनुपस्थित बनेका थिए । गृहमन्त्रीले गृह सचिवलाई मात्र बैठकमा पठाएपछि लेखाको बैठक आज स्थगित
गरिएको छ ।
गृहमन्त्री गौतम बैठक छाडेर काभ्रे र सिन्धुपाल्चोक लागेको एमाले सभासद् विकास लम्सालले जानकारी दिए ।
पूर्व निर्धारित बैठक छाडेर हेलिकप्टर चढेर सिन्धुपाल्चोक र काभ्रेतिर लागेको भन्दै बैठकमा गृहमन्त्रीको आलोचना भएको छ । समितिका सभापति जर्नादन शर्मा प्रभाकरले गृहमन्त्री उपस्थित नहुनु गम्भिर विषय भएको बताए ।
गृहमन्त्रीले समितिको अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गरिएको छ ।